चिन्ता होइन, चिन्तन गरौँ; गन्थन होइन, मन्थन गरौँ
समाज जोड्ने, विचार जन्माउने र पुस्ताबीच संवादको सेतु निर्माण गर्ने एउटा सामुदायिक अभियानको कथा
डा. सुभाष प्याकुरेल
समाज कसरी बन्छ ? मानिसहरू एउटै भूगोलमा बस्दैमा समाज बन्छ कि उनीहरूबीच विचार, भावना र अनुभवको आदानप्रदान हुँदा समाजले वास्तविक आकार लिन्छ? एउटै ठाउँमा बस्ने मानिसहरूबीच संवाद हराउँदै गयो भने के समाज पनि विस्तारै टुक्रिँदै जाँदैन? र, आजका पुस्ताले एकअर्कासँग बोल्न, सुन्न र बुझ्न छाडे भने भोलिको पुस्ताले सम्बन्धको निरन्तरता कसरी कायम राख्ला ?
यी प्रश्नहरू सामान्य लाग्न सक्छन्, तर तिनको अन्तर्य गम्भीर छ। यस्तै एउटा प्रश्नले जन्माएको सोचको परिणाम हो—‘चिन्तन चौतारी’।
करिब दुई वर्षअघि तत्कालीन समयका निवर्तमान मुख्यसचिव सुमनराज अर्यालसँग भएको भेटमा एउटा प्रसङ्ग उठ्यो। उहाँले कुराकानीका क्रममा भावी पुस्ताको सम्बन्धलाई लिएर चिन्ता व्यक्त गर्नुभएको थियो। उहाँको आशय थियो—हाम्रो पुस्ता त विभिन्न सम्बन्ध र सञ्जालका माध्यमबाट एकअर्कासँग जोडिइसकेको छ, तर हाम्रा छोराछोरीको पुस्ता कसरी जोडिएला ? पुस्ताबीचको सम्बन्ध र संवाद कमजोर हुँदै गए भने समाजको निरन्तरता कसरी कायम रहला?
यो प्रश्न सुन्दा सामान्य लागे पनि यसभित्र भविष्यप्रतिको गहिरो चिन्ता लुकेको थियो। आखिर समाज भनेको वर्तमानमा सँगै बसेका मानिसहरूको समूह मात्र होइन; यो विगतका अनुभव, वर्तमानका सम्बन्ध र भविष्यका सम्भावनाबीचको निरन्तरता पनि हो।
त्यही प्रश्नले जोरपाटी क्षेत्रको विगत सम्झायो। जोरपाटी केवल भौगोलिक क्षेत्र होइन, सामाजिक सम्बन्ध, सामुदायिक सक्रियता र आपसी सहकार्यको इतिहास बोकेको ठाउँ पनि हो। विगतमा यहाँ रहेको चामुण्डा वाचनालय यसको एउटा उदाहरण थियो। जोरपाटी चोकमा रहेको उक्त पुस्तकालयले वर्षमा एकपटक उपत्यकाव्यापी हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने गरेको स्मरण अझै ताजा छ। त्यस प्रतियोगितामा थानकोटसम्मका युवा क्लबहरू सहभागी हुने गरेको सम्झना छ।
प्रतियोगितामा सोधिएका प्रश्नको उत्तर मिलाउँदा, पास भएर अर्को समूहमा प्रश्न पुग्दा, सही उत्तर दिएपछि ताली र चकलेट पाउँदा विद्यार्थी तथा युवाले केवल पुरस्कार मात्र प्राप्त गर्दैनथे; उनीहरूले ज्ञान, आत्मविश्वास र सामाजिक सम्बन्ध पनि कमाउँथे। कतिपयका लागि त्यस्ता अवसर आफ्नो प्रतिभा चिनाउने र भविष्यमा अगाडि बढ्ने आधारसमेत बने।
त्यो एउटा पुस्तकालयको गतिविधि मात्र थिएन। त्यो समुदायलाई जोड्ने अभ्यास थियो। मानिसहरू भेटिन्थे, विचार साट्थे, सिक्थे र सँगै अघि बढ्थे। आज प्रविधिले मानिसहरूलाई संसारभर जोडेको छ, तर आफ्नै समुदायका मानिसहरूबीचको संवाद कति बलियो छ भन्ने प्रश्न भने झन् सान्दर्भिक बनेको छ।
यही सन्दर्भमा एउटा अनुभूति जन्मियो—समाजमा फेरि संवादको संस्कृति बलियो बनाउनुपर्छ। पुस्ताबीचको दूरी घटाउनुपर्छ। समुदायका अनुभव, ज्ञान र सम्भावनालाई एउटै ठाउँमा ल्याउनुपर्छ। र, यो काम कसैले आएर गरिदेला भनेर पर्खनुभन्दा आफूले सक्ने ठाउँबाट आफैँले सुरु गर्नुपर्छ।
सानासाना कण जोडिएर ठूलो संरचना बन्छ भने समाज निर्माण पनि सानै प्रयासबाट सुरु हुन सक्छ। यही सोचले एउटा नयाँ अभियानको रूप लियो।
चौतारीको परम्परा, चिन्तनको नयाँ अभ्यास
‘चिन्तन चौतारी’ नाम आफैँमा एउटा सांस्कृतिक र सामाजिक अर्थ बोकेको नाम हो। नेपाली समाजमा चौतारी केवल छहारीमा बसेर थकाइ मार्ने ठाउँ थिएन। त्यो भेटघाट, अनुभव आदानप्रदान, बहस र सामूहिक विवेक निर्माणको थलो पनि थियो।
पर्वत जिल्लामा ‘चिन्तन चौतारो’ नामको अभ्यास देख्दा त्यहाँका अग्रज, प्रबुद्ध व्यक्ति र जनप्रतिनिधिबीच छलफल तथा विचार आदानप्रदान गर्ने परम्पराले पनि यो अवधारणालाई थप प्रेरणा दिएको थियो। समाजमा नयाँ कुरा खोज्न सधैँ नयाँ संरचना नै आवश्यक पर्दैन। कहिलेकाहीँ पुरानो परम्परालाई समयअनुकूल पुनर्जीवित गर्नु नै पर्याप्त हुन्छ।
चौतारीको यही सांस्कृतिक अर्थलाई समकालीन समाजसँग जोड्ने सोचबाट ‘चिन्तन चौतारी’ को अवधारणा अघि बढ्यो। यसको उद्देश्य कुनै सीमित समूहको कार्यक्रम सञ्चालन गर्नु मात्र थिएन; समुदायमा छरिएर रहेका अनुभव, प्रतिभा, ज्ञान र विचारलाई एउटै ठाउँमा ल्याउनु थियो।
यसका लागि लामो समय पर्खनुपरेन। सुमनराज अर्यालसँगको भेटपछि अवधारणालाई व्यवहारमा उतार्ने सोच बन्यो। समाजमा सम्मानित व्यक्तित्व उद्धव रायमाझीसँग सम्पर्क गरेर विचार साझा गरियो। त्यसपछि करिब १०–१२ जनाको समूह बसेर छलफल गर्यो। छलफलमा आएको सोचलाई सामूहिक रूपमा स्वीकार गरियो र अभियान अघि बढाउने सहमति बन्यो।
यसरी ‘चिन्तन चौतारी’ कुनै एक व्यक्तिको एकल प्रयासभन्दा पनि सामुदायिक सोच, सहमति र साझा जिम्मेवारीबाट जन्मिएको पहल बन्यो।
नाराभित्र लुकेको दर्शन
‘चिन्ता होइन, चिन्तन गरौँ; गन्थन होइन, मन्थन गरौँ।’
चिन्तन चौतारीको यो नारा केवल आकर्षक शब्दहरूको संयोजन होइन। यसले समाजमा विद्यमान एउटा महत्त्वपूर्ण प्रवृत्तिलाई प्रश्न गर्छ—हामी समस्याबारे कति कुरा गर्छौँ र समाधानका लागि कति सोच्दछौँ?
हाम्रो समाजमा समस्या छैनन् भन्ने होइन। समस्या छन्, चुनौती छन्, असन्तुष्टि छन्। मानिसहरू चिन्तित हुनु स्वाभाविक हो। तर समस्या देखेर चिन्तित भइरहनु र त्यसको समाधान खोज्न सक्रिय हुनु एउटै कुरा होइन।
चिन्ताले कहिलेकाहीँ मानिसलाई एउटै प्रश्नको वरिपरि घुमाइरहन्छ—अब के होला? किन यस्तो भयो? कसले बिगार्यो? तर चिन्तनले प्रश्नलाई अर्को दिशामा लैजान्छ—अब के गर्न सकिन्छ? उपलब्ध स्रोत र सम्भावना के छन्? समस्याको समाधानमा मेरो भूमिका के हुन सक्छ?
चिन्ता र चिन्तनबीचको अन्तर यहीँ छ। चिन्ता समस्यामा अल्झिन सक्छ, तर चिन्तनले समस्याबाट समाधानतर्फ जाने बाटो खोज्छ।
त्यसैगरी, गन्थन र मन्थनबीच पनि महत्त्वपूर्ण भिन्नता छ। कुनै विषयमा लामो समय कुरा गर्नु मात्र सार्थक संवाद होइन। अरूको कुरा काट्नु, दोषारोपण गर्नु वा निष्कर्षविहीन बहसमा अल्झिरहनु गन्थन बन्न सक्छ। तर फरक विचारलाई सुन्नु, तर्क गर्नु, तथ्य केलाउनु, सम्भावना खोज्नु र नयाँ निष्कर्षमा पुग्नु मन्थन हो।
पानीलाई केवल हल्लाएर त्यसको शक्ति उपयोग गर्न सकिँदैन। त्यसलाई उचित दिशामा प्रवाहित गर्न सकियो भने सिँचाइदेखि विद्युत् उत्पादनसम्मका सम्भावना खुल्छन्। विचारको हकमा पनि यही कुरा लागू हुन्छ। संवादको उद्देश्य केवल बोल्नु होइन; त्यसबाट केही जन्माउनु हो।
यस अर्थमा चिन्तन चौतारीले समाजलाई मौन रहन भनेको होइन, बोल्ने तरिका र सोच्ने दिशा बदल्न आह्वान गरेको हो।
टक शोभन्दा परको उद्देश्य
आजकल विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता र संवादका कार्यक्रम प्रशस्त छन्। कुनै व्यक्तिलाई बोलाउने, प्रश्न सोध्ने र जवाफ सुन्ने ढाँचा सामान्य भइसकेको छ। त्यसैले चिन्तन चौतारीलाई पनि अर्को एउटा टक शोका रूपमा बुझ्न सजिलो हुन सक्छ। तर यसको परिकल्पना त्यतिमा सीमित छैन।
यसका प्रत्येक शृङ्खलाबाट दर्शकले एउटा विचार, एउटा प्रेरणा वा एउटा प्रश्न लिएर जाऊन् भन्ने उद्देश्य राखिएको छ। कार्यक्रम हेरेर सकिएपछि पनि त्यसको विषय घरको भान्छामा, विद्यालयको कक्षाकोठामा, साथीभाइको भेटघाटमा र समुदायको छलफलमा प्रवेश गरोस् भन्ने अपेक्षा छ।
यसका प्रारम्भिक शृङ्खलाहरूमा स्पाइनल इन्जुरी तथा अपाङ्गताको क्षेत्रमा पहिचान बनाउनुभएका डा. राजु ढकाल र एकै प्रयासमा सगरमाथा आरोहण गर्न सफल छिरिङ शेर्पाजस्ता व्यक्तित्वका अनुभवलाई प्रस्तुत गरिएको थियो। चामुण्डा माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएका डा. ढकालको जीवनयात्रा होस् वा हिमाल चढेर फर्किएकी छिरिङ शेर्पाको अनुभव—यस्ता कथाले एउटा साझा सन्देश दिन सक्छन्: परिस्थितिले चुनौती दिन सक्छ, तर सम्भावनाको ढोका सधैँ बन्द हुँदैन।
यस्ता अनुभव सुनेपछि दर्शकको मनमा एउटा प्रश्न जन्मिन सक्छ—यदि उहाँहरूले चुनौती पार गर्न सक्नुभयो भने मैले पनि आफ्नो परिस्थितिमा के गर्न सक्छु?
यही प्रश्नको जन्म नै कार्यक्रमको एउटा उपलब्धि हो। किनकि प्रेरणादायी कथा तब मात्र उपयोगी हुन्छ, जब त्यसले अर्को व्यक्तिलाई आफ्नै जीवनबारे सोच्न प्रेरित गर्छ।
चिन्तन चौतारीको उद्देश्य कुनै व्यक्तिलाई आदर्शका रूपमा प्रस्तुत गरेर प्रशंसा बटुल्नु मात्र होइन। व्यक्तिको जीवनबाट सिक्न सकिने पक्ष पहिचान गर्नु र त्यसलाई समुदायको हितमा प्रयोग गर्न सकिने वातावरण बनाउनु हो।
एउटा शृङ्खलाले एउटा विचार जन्माउन सक्छ। त्यो विचार विद्यालयमा छलफलको विषय बन्न सक्छ। विद्यार्थीले त्यसैमा परियोजना कार्य गर्न सक्छन्। कलेजका विद्यार्थीले अनुसन्धान वा शोधकार्यको आधार बनाउन सक्छन्। यसरी एउटा सामान्य संवाद पनि गहिरो अध्ययन र सामाजिक परिवर्तनको प्रारम्भिक बिन्दु बन्न सक्छ।
आफ्नै समुदायभित्रका नायक खोज्ने प्रयास
समाजमा प्रेरणाका स्रोत खोज्न टाढा जानैपर्छ भन्ने छैन। हामीले आफ्नै वरिपरि हेर्ने हो भने अनेकौँ संघर्ष, सफलता, सिर्जना र सेवाका कथा भेटिन्छन्। तर प्रायः तिनको चर्चा सीमित घेराभित्र मात्र हुन्छ।
चिन्तन चौतारीले स्थानीय समाजमै रहेर उल्लेखनीय काम गरेका व्यक्तित्वलाई अगाडि ल्याउने प्रयास गरेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका व्यक्तिलाई पनि स्थान दिइन्छ, तर अधिकांश शृङ्खलामा आफ्नै समुदायमा भिजेका, आफ्नो क्षेत्रमा केही प्रमाणित गरेका र अरूका लागि उदाहरण बन्न सक्ने व्यक्तिलाई प्राथमिकता दिने सोच छ।
यसले दुईवटा महत्त्वपूर्ण काम गर्छ। पहिलो, स्थानीय प्रतिभाको पहिचान र सम्मान हुन्छ। दोस्रो, नयाँ पुस्ताले आफ्नै समाजभित्र सम्भावना देख्न थाल्छ।
हामीले सफलताको कथा सुनाउन सधैँ टाढाका व्यक्तिको नाम लिनुपर्दैन। हाम्रै विद्यालयमा पढेको व्यक्ति, हाम्रै छिमेकमा हुर्किएको व्यक्ति वा हाम्रै समुदायमा संघर्ष गरेर अघि बढेको व्यक्तिको जीवन पनि प्रेरणाको स्रोत बन्न सक्छ।
यस्ता कथा सार्वजनिक हुँदा समाजमा सकारात्मक प्रतिस्पर्धा बढ्न सक्छ। अरूको सफलताबाट सिक्ने संस्कृति विकास हुन सक्छ। आफ्नो ठाउँप्रति गर्व गर्ने र त्यसको विकासमा योगदान गर्ने भावना बलियो बन्न सक्छ।
अतिथि छनोटमा पनि सामूहिक छलफललाई महत्त्व दिइन्छ। उद्धव रायमाझीको समन्वय तथा अभिभावकत्वमा प्राध्यापक डा. पवनराज चालिसे, सागर सुवेदी, आनन्द बराल, निर्मल अर्याल, मणि फुयाल, श्याम पुडासैनी, दिनेश पुरीलगायतको टोलीले कार्यक्रमलाई अघि बढाउन योगदान गरिरहेको छ।
अघिल्लो शृङ्खलाको समीक्षा, आगामी कार्यक्रमको विषय र अतिथि छनोटबारे छलफल गरिन्छ। विवाद सिर्जना गर्ने वा कार्यक्रमलाई अनावश्यक राजनीतिक दिशामा लैजानेभन्दा पनि समाजलाई उपयोगी सन्देश दिन सक्ने व्यक्तित्व र विषयलाई प्राथमिकता दिने प्रयास गरिन्छ।
यसरी चिन्तन चौतारीको यात्रा व्यक्तिकेन्द्रितभन्दा सामूहिक अभ्यासमा आधारित देखिन्छ।
मोबाइलमा जोडिएका मानिस, संवादमा टाढिएको समाज

आज मानिसको हातमा संसार अटाएको छ। मोबाइलको एउटा स्क्रिनबाट संसारका घटनाबारे थाहा पाउन सकिन्छ, टाढा रहेका मानिससँग तत्काल सम्पर्क गर्न सकिन्छ र विभिन्न विचारसँग परिचित हुन सकिन्छ। तर प्रविधिले सम्पर्क सहज बनाउँदैमा गहिरो संवाद स्वतः स्थापित हुन्छ भन्ने छैन।
सामाजिक सञ्जालमा दिनहुँ असंख्य विचार व्यक्त हुन्छन्। मानिसहरू प्रतिक्रिया दिन्छन्, समर्थन गर्छन्, विरोध गर्छन् र बहस गर्छन्। तर तीमध्ये कति संवादले एकअर्कालाई बुझ्न सहयोग गर्छन्? कति बहसले समस्याको समाधानतर्फ लैजान्छन्? र कति कुराकानी समय बिताउने वा असन्तुष्टि पोख्ने माध्यममै सीमित हुन्छन्?
यी प्रश्नहरूमा गम्भीरतापूर्वक सोच्न आवश्यक छ।
चिन्तन चौतारीले सामाजिक सञ्जालको विकल्प बन्ने दाबी गरेको छैन। न त एउटा कार्यक्रमले मात्र समाजमा गहिरो संवादको अभाव पूरा गर्न सक्छ भन्ने यसको निष्कर्ष हो। बरु यसलाई गहिरो संवादतर्फ जाने एउटा सुरुवाती बिन्दुका रूपमा बुझ्न सकिन्छ।
कुनै विषयमा एक घण्टा भएको संवादले सबै प्रश्नको उत्तर नदिन सक्छ। तर त्यसले अर्को प्रश्न जन्माउन सक्छ। त्यो प्रश्नले थप अध्ययनको बाटो खोल्न सक्छ। अध्ययनले नयाँ विचार जन्माउन सक्छ र विचारले व्यवहार परिवर्तनको आधार तयार गर्न सक्छ।
समाज परिवर्तनको प्रक्रिया सधैँ ठूलो घोषणाबाट सुरु हुँदैन। कहिलेकाहीँ एउटा सानो प्रश्न, एउटा अर्थपूर्ण भेटघाट वा एउटा अनुभवले पनि परिवर्तनको यात्रा सुरु गराउन सक्छ।
चिन्ता कम गर्ने बाटो जिम्मेवार चिन्तन
मानिसले चिन्ता गर्नु स्वाभाविक हो। जीवनमा अनिश्चितता हुन्छ, असफलता आउँछ, सम्बन्धमा जटिलता देखिन्छ र समाजमा विभिन्न समस्या उत्पन्न हुन्छन्। त्यसैले चिन्ता गर्नै हुँदैन भन्नु व्यावहारिक हुँदैन।
तर चिन्ताले हामीलाई निष्क्रिय बनाइरहेको छ कि समाधान खोज्न प्रेरित गरिरहेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।
प्रेसर कुकरको उदाहरणलाई लिऔँ। त्यसको भित्र बनेको चापलाई उचित माध्यमबाट बाहिर निस्कने बाटो मिलेन भने जोखिम उत्पन्न हुन सक्छ। मानिसका विचार र भावनाका सन्दर्भमा पनि संवादले त्यस्तै निकासको काम गर्न सक्छ। आफ्ना समस्या व्यक्त गर्न, अरूको अनुभव सुन्न र समाधानका सम्भावना खोज्न पाउनु उपयोगी हुन्छ।
त्यसैले चिन्तनको अर्थ समस्यालाई दबाउनु होइन। समस्यालाई बुझ्नु, त्यसबारे खुलस्त कुरा गर्नु, फरक दृष्टिकोण सुन्नु र सम्भव समाधानतर्फ अघि बढ्नु हो।
समाधान खोज्ने अभ्यासले चिन्तालाई पूर्ण रूपमा समाप्त गर्छ भन्ने होइन। तर यसले मानिसलाई समस्यासँग जुध्न आवश्यक दृष्टिकोण, आत्मविश्वास र सम्भावनाको अनुभूति दिन सक्छ।
यही कारणले चिन्तन चौतारीले चिन्तालाई चिन्तनमा र निष्कर्षविहीन गन्थनलाई सिर्जनात्मक मन्थनमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ।
अधिकारसँगै जिम्मेवारीको प्रश्न
समाजमा अधिकारका विषयमा चर्चा हुनु आवश्यक छ। व्यक्तिको स्वतन्त्रता, समानता, न्याय र सम्मान लोकतान्त्रिक समाजका आधार हुन्। तर अधिकारको चर्चा गर्दै गर्दा जिम्मेवारीको प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
हामी समाजबाट के चाहन्छौँ भन्ने प्रश्नसँगै समाजका लागि के गर्छौँ भन्ने प्रश्न पनि सोध्नुपर्छ। आफ्नो ठाउँमा के समस्या छ भनेर औँल्याउनु महत्त्वपूर्ण छ, तर समाधानमा आफूले के योगदान दिन सक्छु भनेर सोच्नु पनि उत्तिकै आवश्यक छ।
जोरपाटी क्षेत्रमा चिन्तन चौतारी सुरु हुनुको एउटा मर्म यही हो—अरूले केही गरिदिए हुन्थ्यो भनेर पर्खनुभन्दा आफूले गर्न सक्ने कामबाट सुरुवात गर्ने।
यसको अर्थ राज्यको जिम्मेवारी वा संस्थागत दायित्वलाई बेवास्ता गर्नु होइन। बरु नागरिकले आफ्नो भूमिका पहिचान गर्नु हो। समाजको विकास सरकार, संस्था वा कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव हुँदैन। नागरिकको सक्रियता, सामुदायिक सहकार्य र ज्ञानको आदानप्रदान पनि त्यसका महत्त्वपूर्ण आधार हुन्।
ज्ञानलाई सम्मान गर्ने, अनुसन्धानलाई प्रोत्साहन गर्ने र अनुभवबाट सिक्ने संस्कृतिले समाजलाई दीर्घकालीन रूपमा बलियो बनाउन सक्छ। अरू देशमा ज्ञान, अनुसन्धान र प्राज्ञिक योगदानलाई महत्त्व दिइएको देखेर हामीले पनि आफ्नै समुदायमा यस्ता अभ्यास विकास गर्न सक्छौँ।
यसका लागि ठूलो लगानी वा भव्य संरचना नै चाहिन्छ भन्ने छैन। कहिलेकाहीँ केही व्यक्तिको साझा सोच र निरन्तर प्रयास नै पर्याप्त सुरुवात हुन सक्छ।
पुस्ताबीचको सम्बन्ध जोड्ने चौतारी
चिन्तन चौतारीको प्रारम्भिक चिन्ता भावी पुस्ता कसरी जोडिएला भन्ने प्रश्नसँग सम्बन्धित थियो। त्यसैले यसको भविष्य पनि पुस्ताबीचको सम्बन्ध बलियो बनाउने क्षमतासँग जोडिन्छ।
नयाँ पुस्ताको सोच, रुचि र आवश्यकता फरक हुन सक्छन्। पुरानो पुस्तासँग अनुभव छ, नयाँ पुस्तासँग नयाँ प्रश्न र सम्भावना छन्। यी दुईबीच संवाद भए दुवैले एकअर्काबाट सिक्न सक्छन्। संवाद भएन भने अनुभव र नवीनताबीच दूरी बढ्न सक्छ।
त्यसैले नयाँ पुस्तालाई केवल दर्शकका रूपमा सहभागी गराउनु पर्याप्त हुँदैन। उनीहरूलाई प्रश्न सोध्ने, विषय छनोट गर्ने, कार्यक्रम सञ्चालन गर्ने र आफ्नै विचार प्रस्तुत गर्ने अवसर पनि दिनुपर्छ।
चिन्तन चौतारी सबै पुस्ताको साझा कार्यक्रम बन्ने हो भने त्यसमा नयाँ पुस्ताको सक्रिय सहभागिता आवश्यक छ। आजको पुस्ताले बनाएको संरचनालाई भोलिको पुस्ताले आफ्नै आवश्यकताअनुसार विकसित गर्न सक्नुपर्छ।
यसको उद्देश्य सधैँ एउटै समूहले कार्यक्रम चलाइरहनु मात्र होइन; भविष्यमा नयाँ समूहले पनि यसलाई अघि बढाउन सक्ने वातावरण बनाउनु हो। आजका अग्रजहरूले मार्गदर्शन गर्ने र भोलिका पुस्ताले नेतृत्व लिने अभ्यास स्थापित गर्न सके चिन्तन चौतारी एउटा कार्यक्रमभन्दा परको सामाजिक संस्था बन्न सक्छ।
२८ शृङ्खलापछिको प्रश्न : अबको यात्रा कता ?
चिन्तन चौतारी २८औँ शृङ्खलासम्म आइपुग्दा एउटा कुरा स्पष्ट हुन्छ—सामुदायिक सोचलाई निरन्तरता दिन सामूहिक प्रतिबद्धता आवश्यक हुन्छ। अहिलेसम्मको यात्रामा टोलीले नियमित समीक्षा, समय व्यवस्थापन, अतिथिसँगको समन्वय र कार्यक्रमका साना कमजोरीसमेत केलाउने अभ्यासलाई महत्त्व दिएको छ।
हरेक शृङ्खलापछि के राम्रो भयो, के सुधार्न सकिन्छ र आगामी कार्यक्रमलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने गरेको छ। विचारमा भिन्नता आउनु स्वाभाविक मानिन्छ, किनकि मन्थनको अर्थ नै फरक सोचलाई स्थान दिनु हो।
तर चिन्तन चौतारीको वास्तविक उपलब्धि शृङ्ख्याको संख्या वा कार्यक्रमको लोकप्रियताले मात्र मापन गर्नु उचित हुँदैन। यसको प्रभाव समुदायमा कति विचार जन्मिए, कति मानिस प्रेरित भए, कति नयाँ छलफल सुरु भए र कति व्यवहारिक काम अघि बढे भन्ने आधारमा मूल्याङ्कन गर्नुपर्छ।
यदि कुनै शृङ्खला हेरेपछि विद्यार्थीले नयाँ विषयमा अनुसन्धान सुरु गर्छ भने त्यो एउटा परिणाम हो। यदि अभिभावकले छोराछोरीसँग कुनै सामाजिक विषयमा अर्थपूर्ण संवाद गर्छन् भने त्यो अर्को परिणाम हो। यदि समुदायका मानिसहरू कुनै समस्याको समाधान खोज्न एक ठाउँमा भेला हुन्छन् भने त्यो पनि चिन्तन चौतारीको उद्देश्यसँग जोडिएको उपलब्धि हो।
यस्ता परिणाम तत्काल नदेखिन सक्छन्। विचारको प्रभाव विस्तारै फैलिन्छ। त्यसका लागि निरन्तरता, खुलापन र आलोचनात्मक समीक्षा आवश्यक हुन्छ।
चिन्तन चौतारीको अर्को महत्त्वपूर्ण पक्ष यसको खुलापन हो। यसलाई कुनै सीमित समूहको निजी कार्यक्रमका रूपमा होइन, समुदायको साझा पहलका रूपमा हेर्न आग्रह गरिएको छ। कार्यक्रममा सहभागी हुन, सुझाव दिन, नयाँ अतिथि सिफारिस गर्न वा भविष्यमा यस्तै पहल अघि बढाउन चाहनेहरूका लागि ढोका खुला राख्ने सोच छ।
यो खुलापन व्यवहारमा कायम रहन सक्यो भने अभियानले नयाँ ऊर्जा प्राप्त गर्न सक्छ। नयाँ पुस्ताले यसलाई आफ्नो कार्यक्रमका रूपमा अपनाउन सक्छ। फरक पेसा, अनुभव र रुचिका मानिसहरू जोडिन सक्छन्। र, चौतारीको अवधारणा जोरपाटीको सीमाभन्दा बाहिर पनि विस्तार हुन सक्छ।
निष्कर्ष : समाज बदल्ने काम एउटा प्रश्नबाट पनि सुरु हुन्छ
सुमनराज अर्यालसँग भएको एउटा भेटमा उठेको प्रश्नबाट सुरु भएको सोच आज २८ शृङ्खलासम्म पुगेको छ। यो यात्राले एउटा सामान्य तर महत्त्वपूर्ण कुरा सम्झाउँछ—समाजमा परिवर्तन ल्याउन सधैँ ठूलो योजना र ठूलो स्रोतको प्रतीक्षा गर्नुपर्दैन। कहिलेकाहीँ एउटा प्रश्नले सोच जन्माउँछ, सोचले मानिसहरूलाई जोड्छ र मानिसहरू जोडिएपछि सामूहिक प्रयासको सम्भावना खुल्छ।
चिन्तन चौतारीले समाज बदलिसकेको छ भनेर निष्कर्ष निकाल्न अझै समय लाग्न सक्छ। तर समाजमा संवादको आवश्यकता पहिचान गर्नु, स्थानीय प्रतिभालाई अगाडि ल्याउनु, अनुभवलाई ज्ञानमा रूपान्तरण गर्ने प्रयास गर्नु र पुस्ताबीचको सम्बन्धलाई महत्त्व दिनु आफैँमा सकारात्मक सुरुवात हो।
अबको चुनौती भनेको यो सुरुवातलाई निरन्तर अभ्यासमा बदल्नु हो। कार्यक्रम हेरेर ताली बजाउने दर्शक मात्र होइन, प्रश्न सोध्ने सहभागी तयार गर्नु हो। प्रेरणादायी कथा सुन्ने श्रोता मात्र होइन, आफ्नै समुदायमा केही गर्ने नागरिक निर्माण गर्नु हो। र, एउटा चौतारीमा भएको संवादलाई घर, विद्यालय, कलेज र समुदायसम्म विस्तार गर्नु हो।
समाजका सबै समस्या एउटा कार्यक्रमले समाधान गर्न सक्दैन। तर एउटा कार्यक्रमले सही प्रश्न उठाउन सक्छ। एउटा प्रश्नले सोच जन्माउन सक्छ। सोचले संवाद सिर्जना गर्न सक्छ र संवादले सामूहिक कामको बाटो खोल्न सक्छ।
सायद यही नै चिन्तन चौतारीको सबैभन्दा महत्त्वपूर्ण सन्देश हो—समाजलाई बदल्न अरू कसैले सुरु गरिदेला भनेर पर्खनु आवश्यक छैन। आफूले सक्ने ठाउँबाट सुरु गरौँ। समस्या देख्दा केवल चिन्तित नबनौँ, समाधान खोज्न चिन्तन गरौँ। कुरा काटेर समय बिताउनेभन्दा विचारको मन्थन गरौँ। र, एकअर्काबाट टाढिँदै गएको समाजलाई फेरि जोड्ने प्रयास गरौँ।
किनकि चौतारीमा मानिसहरू भेटिन्छन्, संवादमा विचारहरू भेटिन्छन् र सार्थक मन्थनबाट भविष्यका सम्भावनाहरू जन्मिन्छन्।
चिन्ता होइन, चिन्तन गरौँ; गन्थन होइन, मन्थन गरौँ।


