स्वास्थ्य बीमामा डिजिटल सुधार, एआईबाट दाबी समीक्षा गरिने
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउन स्वास्थ्य बीमा बोर्डले डिजिटल सुधारसम्बन्धी चार महत्वपूर्ण निर्णय गरेको छ। बोर्डको असोज १२ गते बसेको दोस्रो बैठकले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नेदेखि एआईमा आधारित दाबी समीक्षा प्रणाली प्रयोग गर्नेसम्मका निर्णय गरेको हो।
आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिनेछ। साथै, सम्पूर्ण बीमित परिवारले ‘एचआइबी ई–पोर्टल’मार्फत आफ्नो विवरण अद्यावधिक गर्नुपर्नेछ। यसबाट बीमितको पहिचान सुनिश्चित हुनुका साथै दोहोरो आबद्धता नियन्त्रण, केवाईसी अपडेट र दाबी व्यवस्थापन थप प्रभावकारी हुने बोर्डको अपेक्षा छ।
यस्तै, स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा खरिद तथा भुक्तानी प्रणालीलाई वैज्ञानिक, लागत–प्रभावकारी र दिगो बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गरिने भएको छ। कार्यदलले सेवा प्रदायक छनोट, सम्झौताको आधार, सेवाको वर्गीकरण तथा भुक्तानी विधिसहितको प्रतिवेदन ६० दिनभित्र पेश गर्नेछ।
बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाबाट इलेक्ट्रोनिक मेडिकल रेकर्ड अर्थात् ईएमआर प्रणालीमार्फत प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई मान्यता दिने निर्णयसमेत गरेको छ। यसबाट कागजी प्रक्रिया, हस्तलिखित विवरण र भुक्तानीमा हुने ढिलाइ घट्ने अपेक्षा गरिएको छ।
ईएमआरबाट प्राप्त डिजिटल तथ्याङ्कलाई निकट भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई र मेसिन लर्निङमा आधारित दाबी समीक्षा प्रणालीमा प्रयोग गरिनेछ। यसले दाबी परीक्षणलाई थप छिटो, तथ्यपरक र प्रभावकारी बनाउने बोर्डको विश्वास छ।
त्यस्तै, दाबी व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन पहिलो चरणमा २ हजार १८९ वटा कस्टमाइज्ड आईसीडी–११ कोड आईएमआईएस प्रणालीमा प्रयोग गर्ने निर्णय भएको छ। यसबाट रोगको निदान अभिलेखीकरणमा एकरूपता आउने र दाबी परीक्षण थप व्यवस्थित हुने बोर्डले जनाएको छ।
समग्रमा, स्वास्थ्य बीमा कार्यक्रम अब डिजिटल पहिचान, डिजिटल दाबी, एआईमा आधारित समीक्षा र रणनीतिक खरिद प्रणालीतर्फ अघि बढ्ने भएको छ।

